नवसंग्राम दैनिक
लहान, २० असोज । सिरहाको भगवानपुर ४ ठाडी बजारमा साँस्कृतिक कार्यक्रम हेर्न गएका तीन युवालाई असोज १९ गते राती स्थानीय एक समूहले निर्घात कुटपिट गरी घाईते बनाएको छ ।
गम्भिर घाईते भएका भगवानपुर ४ ठाडी बजारकै महेशकुमार साह, राधेश्याम यादव र राहुल साहको उपचार प्रादेशिक अस्पताल लहानमा भइरहेको छ । महेश साह र राधेश्याम यादवको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।
साँस्कृतिक कार्यक्रम हेर्न गएको बेला राती साढे ११ बजेतीर स्थानीय सुफैत यादव, भागवात यादव, दुर्गा मण्डल, रंजितकुमार मण्डल र अपरिचित (दूई जना) को एक समूहले व्यक्तिगत रिसिवीको कारण उनीहरुलाई लाठी, रडले कुटपिट गरेको हो ।
पीडितपक्षले आज उनीहरुविरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा न्यायको लागि उजुरी दिएको छ । घाईते यादव र साहको टाउँकोमा ६ वटा टाँका लागेको छ भने जिउ पियुठीमा निर्घात कुटपिट गरेको निलडाम रहेको छ ।
कुटपिट गर्ने सुफैत यादवलाई प्रहरीले आज विहान नियन्त्रण लिएपनि ईलाका प्रहरी कार्यालय लहानले दवावमा यादवलाई रिहा गरिएको छ । लहान प्रहरीका डिएसपी कुमार मैनालीले ‘कुटपिट घटना भएकै हो ।’ ‘ उमेर वृद्ध भएकोले सुफैतलाई तत्काल छाडिएको हो ।’ ‘अनुसन्धान जारी नै छ ।’‘ त्यस्तो परियो भने फेरी पक्राउ गरी कारवाही गर्ने ’ डिएसपी मैनालीले बताए ।