नवसंग्राम दैनिक
लहान, २५ भदौ । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले भारतको विभिन्न तीर्थभ्रमणमा रहेको बेला आफुमाथी लगाएको मुद्दा निराधार रहेको दावी गरेको छ ।
उपमेयर महतो आफु निर्दोष रहेको भन्दै तीर्थभ्रमणपछि सिधै प्रहरीमा हाजिर भएको दावी गरेका छन् ।
उपमेयर महतोले पत्रकारहरुसँग भेटघाटमा आफू स्वास्थ्य परीक्षण र तीर्थभ्रमण लागि भारत गएको बताएका छन् ।
तीर्थभ्रमणमामा रहेको समयमा किटानी जाहेरी परेको घर फर्किएपछि थाहा पाएलगत्तै स्वयम् प्रहरीमा गएको बताएका छन् । ‘स्वास्थ्य परीक्षण र तीर्थभ्रमणका लागि भारत गएपछि १० साउनमा नगरपालिका कार्यालयमा निवेदन पनि दिएको थिएँ’ उनले भने ‘निर्वाचनको धपेडीमा बिग्रिएको स्वास्थ्य परीक्षणसँगै भारतको विभिन्न प्रान्तको धार्मिक तीर्थस्थल घुम्न ४ साउनमै घरबाट निस्किएको थिएँ ।’ लहान जस्तो ठूलो नगरपालिकामा दिनहुँ सेवाग्राहीको भिडभाड रहने भएकाले कार्यकक्षको गोप्य कोठामा बलात्कार प्रयास गरेको भन्ने आरोप झुठो रहेको र आफूलाई फसाउने षड्यन्त्र रहेको उनको दावी छ । गत ४ साउनमा उपमेयरविरुद्ध लहान प्रहरीमा बलात्कार प्रयासको आरोपमा किटानी जाहेरी दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार जाहेरी दर्ता भएसँगै प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको थियो । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन् ।
आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब साढे तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको थियो । महतोको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताएका छन् । लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए। सम्पर्कविहिन भएको ५१ औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन् । उपमेयर महतोलाई धनगढी प्रहरी कार्यालयमा राखिएको छ ।