लहान, ६ माघ । मधेश आन्दोलनको केन्दु लहानमा यस बर्षपनि विशेष कार्यक्रम गरेर बलिदानी दिवस मनाइएको छ । माघ ५ गते सधैंझै यस बर्ष पार्टीहरु आ—आफ्नै व्यानरमा बलिदानी दिवस मनाइएको छ ।
डा.सिके राउत नेतृत्व रहेको जनमत पार्टीले वृहत्त भेला गरी लहान स्थित रहेको मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको प्रतिमामा माला अर्पण गरी बलिदानी दिवस मनाइएको छ । योसँगै डा.सिके राउतका प्रमुख अतिथीमा हजारौंको सँख्यामा वृहत्त जनसभा गरेको छ ।

उता, जनमत पार्टीबाट विभाजन भएका कैलाश महतोका नेतृत्व मधेश स्वराज पार्टीले रमेश महतोको प्रतिमामा फुलमाला लगाएर रघुनाथपुर स्कूलमा जनसभा गरी बलिदानी दिवस मनाइएको छ ।
यसैगरी राष्ट्रिय जनता पार्टी लहान नगर समिति र सिरहा क्षेत्र १ क्षेत्रीय समितिको संयुक्त आयोजनामा फुलमालासहित कोणसभा गरेको छ । जनता समाज पार्टीले जुलुस प्रदर्शन गरी नगर परिक्रमा गर्दै सहिद चौकमा कोणसभा गरी कार्यक्रम गरेको छ । जसपाका लहान नगर समितिका अध्यक्ष बलिराम यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा कृष्णबहादुर यादव, पूर्व केन्द्रीय सदस्यद्धय भरत साह, जयनारायण यादव, सिरहा क्षेत्र १ का क्षेत्रीय अध्यक्ष भारती गुप्ता, प्रदेश क का संयोजक शितल साह, युवा नेता मनोज यादवलगायतले सहिदको सपना सकार गर्न आज पनि हामी आन्दोलनमै रहेको बताएका थिए ।

यसैबीच, सहिद रमेश महतो प्रतिष्ठानको अगुवाईमा जनता समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजलाल यादवका नेतृत्वमा फुलमाला अर्पण गरी कार्यक्रम गरेको छ । सो कार्यक्रममा प्रदेश २ का मन्त्रीहरु विजय यादव र शैलेन्द्र साहलगायतका उपस्थिति रहेको जसपाका अर्का नगर अध्यक्ष दिनेश महतोले जानकारी दिए ।
प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । योसँगै मो.अनिस, विजय सहनी, प्रमोद सदाय र बेचन यादव लहानमा सहिद भएका छन् । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ ।
आन्दोलनको रुप कडापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गरेको थियो ।
सम्झौतापछि र नयाँ संविधान जारी गरेपछिपनि मधेशमा संविधान संशोधनबारेमा थुप्रै पटक आन्दोलन भएका छन् । मधेश केन्द्रित दलले संविधानमा आफ्ना अधिकार र माग अझै नसमेटिएको भन्दै मधेशीहरु आज पनि आन्दोलित छन् ।
उता, जनकपुरमा एक कार्यक्रम गरी मनाएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुलाई प्रदेश सरकारले दोसल्ला र जनही २५ हजार नगद सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन् ।


.jpg)